Tuesday, February 21, 2012

नेपाल–बिहार आर्थिक सहकार्य चुनौतीपूर्ण

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहारको राजधानी पटनामा ‘ग्लोबल समिट अन चेञ्जिङ बिहार’को उद्घाटन गर्दै नेपाल र बिहारबीच आर्थिक सहकार्यको अवधारणा अघि सारे । त्यसलाई नेपाल र भारतका मिडियाहरूले पनि निकै महŒव दिए । सम्मेलनमा अति नै हल्का किसिमको सम्बोधन गरेका उनले नेपाल र बिहारका बीच मुख्य गरी तीन किसिमले विकास साझेदारी हुन सक्ने कुरा बताए– जलस्रोतको विवेकपूर्ण प्रयोग, नेपालबाट विद्युत् निकासी र बौद्ध तथा हिन्दू धार्मिक पर्यटनको विकास । तर, यी तीन पक्षमा कसरी सहकार्य हुन्छ र क्षेत्रीय सहकार्यबाट कसरी तीव्र र दिगो आर्थिक वृद्धि हुन्छ भन्ने कुरा उनले बताएनन् । वास्तवमा उनले भनेका यी तीनओटा क्षेत्रमा नेपाल र बिहारबीचको सहकार्य अत्यन्तै जटिल छ ।
उनले उल्लेख गरेको पहिलो सहकार्यको क्षेत्र जलविद्युत् हो । बिहारको विद्युत्को जडित क्षमता जम्मा १ हजार ८ सय ५५ मेगावाट छ, जसमध्ये जलविद्युत्को हिस्सा १ सय २९ मेवा मात्रै छ । कुल जडित विद्युत्मध्ये पनि ठूलो हिस्सा केन्द्रीय सरकारी निकायको भएकाले त्यहाँ ऊर्जाको उपलब्धता जम्मा १ हजार २ सय २५ मेवा मात्रै छ । वर्तमान स्थितिमा त्यहाँ ऊर्जाको माग ४ हजार मेगावाटको हाराहारीमा रहेको त्यहाँको सरकारी तथ्याङ्क छ । नेपालभन्दा चारगुणा बढी अर्थात् साढे १० करोड जनसङ्ख्या भएको बिहारमा जलविद्युत् उपलब्ध गराउन सके नेपालले राम्रै लाभसमेत लिन सक्छ । नेपालले उपलब्ध गराएको विद्युत् खरीद गर्न बिहार इच्छुक नै देखिन्छ । बिहारी मुख्यमन्त्रीले समेत नेपालसँग विद्युत् खरीद गर्न इच्छुक रहेको बताएका छन् । तर, अहिले नेपालले बिहारकै बाटो भएर ५० मेगावाट विद्युत् आयात गरिरहेको छ भने थप २ सय मेगावाट विद्युत् आयात गर्ने तयारीसमेत गरिरहेको छ । अर्कातिर, नेपालको अहिलेको विद्युत् जडित क्षमता पुग नपुग ७ सय मेगावाट छ । प्रधानमन्त्रीले सपना देखेजस्तै गरी नेपालको अर्थतन्त्रको विकास भयो भने अबको ५ वर्षमा देशमा विद्युत्को माग ५ हजार मेगावाटभन्दा बढी पुग्छ । अहिलेको देशको अवस्था, आउन लागेका परियोजनाहरू र ती पूरा हुन लाग्ने समयसमेत गणना गर्दा त्यसले हाम्रो आन्तरिक माग नै धान्न नसक्ने अवस्था छ । त्यति धेरै मात्रामा विद्युत् उत्पादन गर्न खर्बौं रूपैयाँको लगानी र ठूलो मात्रामा दक्ष जनशक्ति आवश्यक पर्छ । नेपालले त्यो जुटाउनै नसक्ने अवस्था छ । केही गरी त्यसैगरी लगानी आइहाल्यो भने पनि त्यसरी एकैपटक काम हुँदा यहाँ पर्यावरणीय तथा सामाजिक विशृङ्खलता सृजना हुन सक्छ । त्यसैले नेपालले विद्युत् निकासी गर्ने क्षमता हासिल गर्न निकै वर्ष कुर्नुपर्ने हुन सक्छ । त्यतिबेलासम्म नेपालबाट विद्युत् किन्न पाइएला भनेर बिहार बस्ने सम्भावना छैन । उसले थर्मलप्लाण्ट वा न्यूक्लियर ऊर्जाका माध्यमबाट आप्mनो माग पूर्ति गर्ने नै छ । त्यसैले प्रधानमन्त्रीले भनेजस्तो नेपालले बिहारमा विद्युत् निकासी गर्न सक्ने सम्भावना अत्यन्त न्यून छ ।
दोस्रो, जलस्रोतको विवेकपूर्ण उपयोग भनेर बिहारले नेपालबाट आफ्नो क्षेत्रमा आउने बाढीलाई कसरी व्यवस्थापन गर्ने भनेर सोचिरहेको छ । वास्तवमा नेपाली प्रधानमन्त्रीलाई निकै सम्मान दिनुमा पनि बिहारको त्यही स्वार्थ लुकेको छ । बिहार विश्वसम्मेलन र त्यसमा नेपाली प्रधानमन्त्रीको सहभागिताका बारेमा बोल्ने क्रममा त्यहाँका उपमुख्यमन्त्री सुशीलकुमार मोदीले नेपालबाट बिहारमा आउने बाढीका सम्बन्धमा नेपाली प्रधानमन्त्रीले केही न केही बोल्ने बताएका थिए । डा. भट्टराईले पनि सम्बोधनका क्रममा बाढीले ल्याउने दुःखदायी घटनालाई कम गराउन मिलेर काम गर्नुपर्ने बताएर त्यस दिशामा सङ्केतसम्म गरे । तर, भारतले उच्च प्राथमिकतामा राखेको कोशी उच्चबाँध नेपालमा अति नै विवादित बन्दै आएको छ । त्यस बाँधबाट हुने धनजनको क्षतिको विषयलाई लिएर स्थानीय बासिन्दाले त विरोध गरिरहेका छन् नै, प्रधानमन्त्रीको दल एनेकपा माओवादी पनि त्यसको विपक्षमा छ । त्यस बाँधबाट नेपालका आठ जिल्लामा जग्गाजमीन, मानवबस्ती तथा जैविक विविधता नष्ट हुने, भारतको तुलनामा नेपालले एकदमै थोरै मात्र विद्युत् र सिँचाइ सुविधा प्राप्त गर्नेजस्ता तर्क विरोधी पक्षको छ । यो बाँधबाट बिहारको १० लाख हेक्टर र नेपालको ५ लाख हेक्टर जमीन सिँचाइ हुने तथा ३ हजार ४ सय मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको छ । बाँध निर्माणका विषयमा सन् १९९७ मा नै नेपाल र भारतबीच सहमतिसमेत भइसकेको छ । तर, बिहारको बाढी नियन्त्रणका लागि नेपालका बस्ती र जैविक विविधता डुबाउन लागिएको यसका विरोधी पक्षको आरोप छ । अर्कातिर, केही वर्षअघि कोशीको बाँध भत्किएजस्तै प्रस्तावित उच्चबाँध पनि फुट्यो भने त्यसले ल्याउने विपत्ति पनि अत्यन्तै भयावह हुने देखिन्छ ।

अर्कातिर, कोशीमा बाँध निर्माण गरियो भने त्यसबाट प्राप्त हुने उच्च गुणस्तरीय पानीको प्रयोगमा बिहार (यसमा भारत सरकार)ले नेपाललाई प्रिमियम तिर्न तयार हुन्छ कि हुँदैन ? त्यसबाट नेपालले प्राप्त गर्ने लाभ निर्धारण हुनेछ । अहिलेसम्मको भारतको मानसिकता हेर्दा उसले सित्तैमा पानी प्रयोग गर्न पाउनुपर्ने सोच राखेको देखिन्छ । यस्तो अवस्थामा नेपाललाई अधिकतम हित हुने गरी यो बाँध निर्माणको योजना कार्यान्वयन गराउनु अति नै चुनौतीपूर्ण छ । नेपालले पाउने लाभभन्दा त्यसबापत हुने लागत बढी भयो भने यो परियोजनाले पूर्णता पाउने सम्भावना क्षीण छ । वास्तवमा नेपाली नदीहरू विशेषगरी कोशीमा आउने बाढीबाट बिहारमा हुने क्षतिलाई बिहारीहरूले केन्द्रमा राखेकाले उनीहरू यस विषयमा गम्भीर रहेको पाइयो । तर, यस्तो गम्भीर विषयमा नेपालका प्रधानमन्त्रीले नेपालका राजनीतिक दलहरूसँग एकवचन सोध्ने, छलफल गर्ने कामसम्म पनि गरेनन् । त्यसो हुँदा यस विषयमा उनको भनाइ अत्यन्तै फितलो हुन पुग्यो ।
प्रधानमन्त्रीले भनेको तेस्रो सहकार्यको क्षेत्र हिन्दू तथा बौद्ध धार्मिक पर्यटनको हो । नेपालका पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र बिहारका बोधगया, नालन्दा, वैशालीलगायतका स्थानहरूलाई धार्मिक पर्यटनको विकासमा प्रयोग गरिने अवधारणा सकारात्मक हो । नेपाल र बिहार दुवै विशेष रूपमा हिन्दू र बौद्धधर्मका बासिन्दाहरूको क्षेत्र भएकाले धार्मिक पर्यटन विकासको सम्भाव्यता प्रचुर छ । नेपालको लुम्बिनी तथा भारतका बोधगया, सारनाथ र कुशीनगरलाई समेटेर बुद्ध सर्किटको परिकल्पनासमेत गरिएको छ । वास्तवमा यो अवधारणाको कार्यान्वयन र प्रचारप्रसार हुन सक्ने हो भने यो क्षेत्र पर्यटक आगमनको राम्रो क्षेत्र हुन सक्नेछ, जसको लाभ भारत तथा नेपालले प्राप्त गर्न सक्नेछन् । तर, यसका लागि नेपाल सरकारको योगदान अत्यन्त नगन्य छ । वास्तवमा नेपालको समग्र पर्यटन क्षेत्रजस्तै धार्मिक पर्यटनमा पनि निजीक्षेत्रको नेतृत्वदायी भूमिका छ । सरकारले धार्मिक पर्यटनलाई सहजीकरण गरिदिए मात्रै पनि त्यसबाट देशले प्रशस्त लाभ लिन सक्छ । तर, भाषण गर्न मात्र सिपालु नेपालका सरकार नेतृत्वकर्ताहरूले त्यस किसिमको भूमिका निर्वाह गर्लान् भन्ने आश त्यत्ति धेरै छैन ।
हो, प्रधानमन्त्रीले भनेजस्तै विकासमा क्षेत्रीय सहकार्य हुन सक्यो भने त्यसले दुवै देशलाई राम्रै लाभ दिन सक्ला । तर, पूर्वाधार, शिक्षा, स्वास्थ्य र सुशासनमा केन्द्रित बिहारले विकासको बाटो हिड्न शुरू गरिसकेको छ । राजनीतिक स्थायित्व पनि त्यसका लागि सहायक बनेको अवस्था छ । तर, लामो समयदेखि राजनीतिक अस्थिरता रहेको नेपालका सरकारहरू देश विकास कसरी गर्ने भन्ने सन्दर्भमा पनि स्पष्ट हुन सकेका छैनन् । विकासको पथमा रहेको बिहार र आर्थिक ठहरावमा रहेको नेपालबीचको सम्बन्धलाई विवेकपूर्ण बनाउन सकिएन भने त्यसले नेपाललाई निकै ठूलो घाटा पु¥याउनेछ । बिहारमा पूर्वाधार निर्माणलगायतका विकास क्रियाकलाप बढेर रोजगारी सृजना हुन थालेपछि नेपालमा कामदार अभाव हुन लागेको छ । आगामी दिनमा यो स्थिति अझै बढेर जानेछ । नेपालमा कामदार अभाव हुन थालेपछि त्यसबाट उत्पादन लागतसमेत बढ्नेछ । अर्कातिर, नेपालको सीमावर्ती क्षेत्रमा स्थापना भएका बहुराष्ट्रिय कम्पनीसमेत अब बिहारतिर सर्ने सम्भावना छ । किनभने नेपालमा मजदूर र ऊर्जाको समस्या त छँदै छ, राज्यले उद्योगहरूलाई सुरक्षासमेत प्रदान गर्न सकेको छैन । यस्तो अवस्थामा बिहारमा विधिको शासन र सुरक्षाको प्रत्याभूति सरकारले लिइरहेको छ । बिहारको बजारलाई केन्द्रित गरेर नेपालमा स्थापना भएका उद्योगहरूलाई सहज वातावरण प्रदान गर्न सकिएन भने उनीहरू यहाँ बसिरहँदैनन् । त्यसैले नेपालमा उद्योगमैत्री वातावरण बनाउनु र त्यसलाई कायम राख्नु पनि नेपालका सरकारहरूको चुनौती हो । होइन, त्यसो गर्न सकिएन भने बिहारको बढ्दो विकासको गति नेपालका लागि अभिशाप बनेको
हेर्न धेरै दिन पर्खनुपर्दैन ।
    इमेल ः वबलबचमबलदबचब२िनmबष्।िअयm

Wednesday, August 17, 2011

हुण्डीको हुण्डरी रोक्ने चुनौती

राजस्व अनुसन्धान विभागले गैरकानूनी रहेको हुण्डीको कारोबार रोक्नका लागि कारबाही थालेको छ । नेपालमा हुण्डी कारोबार बाहिर नदेखिए पनि भित्रभित्रै व्यापक प्रचलनमा आइसकेको अवस्थामा विभागले कारबाही थाल्नै ढिलो भइसकेको थियो । त्यसैले कारबाही थालिनु सकारात्मक हो । तर, एकदुई ठाउ“मा छापा मारेकै भरमा वा एकदुई जनालाई दण्डित गरेकै भरमा हुण्डीको कारोबार रोक्न सम्भव छैन । उच्च राजनीतिक संरक्षण र प्रतिष्ठित व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरुको संलग्नतामा हुण्डीको कारोबार वर्षौंदेखि भइरहेको भन्ने प्रहरीको भनाइले पनि यो समस्याको अन्त्य जटील भएको देखाउ“छ । त्यसैले जबसम्म उच्च राजनीतिक तथा व्यावसायिक व्यक्तिहरु कालो धनलाई सेतो बनाउन र कालो धन हुण्डीमार्फत भित्र्याउन रकम स्थानान्तरण गरिरहन्छन्, जबसम्म व्यवसायीहरुले कालोबजारीलाई आफ्नो मूलमन्त्र ठानिरहन्छन्, तबसम्म हुण्डीको कारोबार रोकिने सम्भावना छैन । केही हदसम्म आर्थिक (वित्तीय) साक्षरताको अभाव र औपचारिक क्षेत्रको अनुपस्थितिका कारण पनि हुण्डी भइरहेको छ । त्यसलाई भने रोक्न सकिने सम्भावना हुन्छ ।
पहिलो त ठूला राजनीतिक नेताहरु, उच्च ओहोदाका कर्मचारीहरु अनि अवैध धन्दामा संलग्न व्यवसायीहरुले कालो धनलाई अनौपचारिक (हुण्डी)का माध्यमबाट विदेश पठाउने गरेको आशंका गरिएको छ । वैधानिक रुपमा व्यवसाय गरेकाहरुले पनि नेपालमा आफ्नो लगानी तथा सम्पत्तिको सुरक्षाको प्रत्याभूति महसुस नगरेकाले यही माध्यम भएर पु“जी पलायन गरिरहेको बताइन्छ । यदि नेपालमा लगानीमैत्री वातावरण बन्ने हो र सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुने हो भने दोस्रो समस्याको समाधान हुन्छ । तर, पहिलो समस्या त्यस्तो होइन । त्यो समस्या समाधान गर्नका लागि भ्रष्टाचारमा संलग्न नेता तथा कर्मचारी एवम् अवैध धन्दामा संलग्न व्यवसायीलाई कानूनको कठघरामा ल्याउनुपर्छ । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो नेपालको ‘अम्बुड्समेन’ निकायले भ्रष्टाचार र कालोबजारीको दायरालाई त ठम्याउन सकेको छैन भने कारबाही त परको कुरा । त्यसो हु“दा राज्यकोष र उपभोक्ताको रगत चुसेर ठालू बनेकाहरुको संरक्षणमा भइरहेको हुण्डी रोक्ने राजस्व अनुसन्धान विभागको साहस दुस्साहसमा परिणत हुने सम्भावना छ ।
दोस्रो, यकीन तथ्याङ्क नभए पनि धार्मिक क्षेत्रमा काम गर्ने गैरसरकारी तथा अन्य किसिमका संस्थाहरुलाई निकै ठूलो मात्रामा रकम हुण्डीमार्फत आइरहेको आशंका गरिन्छ । त्यस्तो रकम पठाउनेमा चिनेजानेका ठूला देश तथा दातृसंस्था हुने भए पनि खुलेर भने आउ“दैन । अर्कातिर विदेशमा अस्वाभाविक रुपमा पैसा कमाउने नेपालीहरुले नेपालमा पैसा पठाउन यस्तै अनौपचारिक मँध्यमको प्रयोग गर्ने गर्छन् । अझ भारतीय अधिकारीहरुको आरोपलाई आधार मान्ने हो भने त हुण्डीमार्फत आतंककारी गतिविधिका लागिसमेत रकम भित्रन्छ । यी तथ्यलाई विश्लेषण गर्ने हो भने हुण्डीले ठूलै हुण्डरी सिर्जना गर्ने स्थिति बनिसकेको छ ।
दोस्रो, भारत, चीन र अन्य तेस्रो राष्ट्रबाट हुने प्रायः सबै आयातका लागि हुण्डीको माध्यमबाट पैसा पठाउने गरिन्छ । त्यो किनभने नेपालमा आयात हुने प्रायः सबै सामान न्यून बिजकीकरण गरी कम भन्सार तिरेर भित्रन्छन् । भन्सारमा पेश गर्नका लागि त्यस्ता सामानको कम मूल्यको बिल बन्छ, वास्तविक मूल्य अर्कै (अधिक) हुन्छ । त्यसो हु“दा वस्तुको बिलमा उल्लेख भएको मूल्यबराबरको रकम औपचरिक माध्यमबाट जान्छ, वास्तविक मूल्यबराबरको रकम चाहि“ हुण्डीको माध्यमबाट सम्बन्धित देशमा पठाउने गरिन्छ । नेपालमा हुण्डी व्यवसाय गर्नेहरुका नियमित, ठूला र भरपर्दा ग्राहक यस्तै व्यापारीहरु हुन् । त्यसैले भन्सारमा हुने न्यून बिजकीकरणको समस्यालाई समाधान गर्ने हो भने हुण्डीलाई नियन्त्रण गर्न त सकिन्छ नै, सरकारलाई ठूलो मात्रामा राजस्व समेत प्राप्त हुन्छ ।
तेस्रो, रोजगारीको सिलसिलामा भारतलगायतका देशमा रहेका नेपालीहरुले यहा“ रकम पठाउन औपचारिक स्रोत नभेट्टाउ“दा बाध्य भएर हुण्डीको सहारा लिनु परिरहेको छ । तीमध्ये धेरैजसो बैंकलगायतका औपचारिक माध्यमबाट रकम पठाउ“दा सुरक्षित र भरपर्दो हुन्छ भनेर थाहा नपाउनेहरु छन् । तिनीहरुलाई हुण्डीको कारोबार गैरकानूनी हो भन्ने पनि थाहा नहुन सक्छ । यो समस्या समाधान गर्न पहिलो त वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक छ । दोस्रो, विशेषगरी भारतमा नेपाली विप्रेषण कम्पनीहरुलाई शाखा खोल्न अनुमति दिलाउन कुटनीतिक पहल गर्नु आवश्यक छ । अहिले पनि सीमित बैंक तथा विप्रेषण कम्पनीहरुले यस्तो काम गरिरहेका छन् । तर, तिनीहरुको सञ्जाल भारतमा काम गर्ने कामदार तथा नेपालस्थित तिनका नातेदारको पहु“चमा छैन । यदि नेपाली विप्रेषण कम्पनीले खाडी देशहरुमा जस्तै भारतमा पनि आफ्नो शाखा विस्तार गर्ने अवसर पाए भने हुण्डीको कारोबारलाई निरुत्साहित गर्न सकिन्छ ।

Monday, August 15, 2011

विप्रेषण निर्भर जीवनस्तर सुधार, आर्थिक दुर्घटनाको धराप

नेपाल जीवनस्तर सर्वेक्षण २०११ ले नेपालको गरीबी घटेर १३ प्रतिशत पुगेको देखाएको छ । सर्वेक्षणले प्रत्येक घरपरिवारको आय सन् १९९५/९६ को तुलनामा पाँच गुणा बढेको सार्वजनिक गरेको छ । अहिले नेपालको प्रतिघरपरिवार वार्षिक आय २ लाख ३ हजार रूपैयाँ पुगेको देखिएको छ । यसले सार्वजनिक गरेका अन्य सूचकहरूले पनि नेपालीहरूको जीवनस्तर बढेको देखिन्छ । यस्तो तथ्याङ्क सार्वजनिक हुनु सकारात्मक नै हो । तर, यसको प्रमुख आधार भनेको नेपाली युवाहरूले विदेशमा काम गरेर पठाएको विप्रेषण नै हो । कुल गार्हस्थ्य उत्पादन बढेर होइन, विप्रेषण मात्रै बढेर जीवनस्तर उक्सिनुले सकारात्मक सन्देश दिएको छैन । देशभित्रै उत्पादन बढाएर मात्रै दिगो आर्थिक वृद्धि हासिल गर्न सकिन्छ भन्नेमा कसैको दुईमत हुन सक्दैन । त्यसैले नेपालीको जीवनस्तर वृद्धिको यो आधारलाई पनि संरक्षण गर्दै देशभित्रै उत्पादन बढाउनतर्फलाग्नुपर्छ ।

सन् २००३/०४ मा यो नेपालमा कुल ९० अर्बको हाराहारीमा विप्रेषण भित्रन्थ्यो । सन् २०११ मा पुग्दा २ खर्ब ३१ अर्ब रूपैयाँको हाराहारीमा विप्रेषण भित्रन थालेको छ । नेपालका ५६ प्रतिशत घरपरिवारले विप्रेषण भित्र्याइरहेको तथ्याङ्क यो सर्वेक्षणले सार्वजनिक गरेको छ । तर, भित्रिएको कुल विप्रेषणमध्ये ७९ प्रतिशत दैनिक उपभोगमा खर्च भइरहको छ । साहूको ऋण तिर्ने, सम्पत्ति जोड्ने तथा शिक्षा तथा स्वास्थ्यमा खर्च हुने रकमसमेत जोड्दा जम्मा साढे २ प्रतिशत विप्रेषण मात्र बचत भएको देखिन्छ । त्यसैले नेपालको कुल गार्हस्थ्य उत्पादनको २३ प्रतिशत बराबरी भित्रने विप्रेषण उत्पादनमूलक क्षेत्रमा लगानी भई पूँजी निर्माण हुन सकेको छैन । त्यसैले यसले देशको कुल गार्हस्थ्य उत्पादन वृद्धिमा योगदान दिन सकेको छैन ।

देशमा उद्योगधन्दा खुल्न सकेका छैनन् । त्यसो हुँदा बेरोजगारी समस्या तीव्र रूपमा बढ्दै छ । देशमा रोजगारीको अवसर न्यून हुँदै गएपछि सक्षम युवापुस्ता विदेश पलायन भइरहेको छ । त्यहाँबाट नेपालीहरूले वर्षेनि पठाउने गरेको विप्रेषण रकम कम त छैन तर त्यसको उत्पादनमूलक उपयोग हुन सकेको छैन । यदि विप्रेषण रकमलाई पूँजी निर्माणको काममा लगाउन सक्ने हो भने त्यसले यहाँ रोजगारीको अवसर सृजना गर्नेछ र देशको गार्हस्थ उत्पादनमा त्यसबाट योगदान पुग्न सक्छ । तर, दैनिक उपभोगमा मात्रै त्यो रकम खर्च भइरहेको हुँदा देशको अर्थतन्त्र नै उपभोगमुखी बनेको छ । देशभित्र नयाँ उद्योगधन्दाहरू नबढ्ने तथा भएकाहरू पनि बन्द हुने अवस्था भएपछि उपभोगका लागि आयातनिर्भर हुनुको विकल्प छैन । यसो हुँदा पछिल्ला वर्षहरुमा विप्रेषणसँगै आयात पनि तीव्र रूपमा बढिरहेको छ । र, देशको भुक्तानी सन्तुलन नकारात्मक बनिरहेको छ । यसरी विप्रेषणमुखी अर्थतन्त्रले देशलाई आयातमुखी बनाउँदै अन्धकारतर्फधकेल्दै छ ।

आज हामी नेपाली जनताको जीवनस्तर बढ्दा पनि सन्तुष्ट हुने अवस्थामा छैनौं । भोलि यो विप्रेषणको स्रोत बन्द भयो भने हाम्रो स्थिति के होला, त्यसको विचार हामीले शायद गरेका छैनौं । अझ रोजगारीको सिलसिलामा विदेशमा रहेका ५०औं लाख युवा देश फर्किनुपर्ने बाध्यात्मक परिस्थिति सृजना भयो भने आम्रो आयको प्रमुख स्रोत त बन्द हुन्छ नै, तिनीहरूलाई हामी के काम दिनेछौं ? साँच्चै कहालीलाग्दो स्थिति छ । राजनीतिक अस्थिरता र अनिश्चितताका कारण नै यो सबै समस्या उत्पन्न भइरहेको छ भन्नेमा विवाद छैन । तर, यो स्थितिको स्वामित्व लिन हाम्रो राजनीतिक नेतृत्व तयार छैन । त्यो नभइन्जेल हामी आर्थिक दुर्घटना पर्खेर बस्नुको विकल्प पनि छैन ।

Sunday, August 7, 2011

आर्थिक चिन्तनमा छैनन् धेरै पूर्वअर्थमन्त्रीहरु

नेपालमा अहिलेसम्म २७ जनाले अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । २००७ सालमा राणाशासनको अन्त्य भएपछि बनेको मन्त्रिमण्डलमा सुवर्णशमशेर जबरा नेपालको पहिलो अर्थमन्त्री भएका थिए । हालसम्म अर्थ मन्त्रालयको नेतृत्व गर्नेमध्ये १६ जना जीवित छन् २०४३ देखि ०४६ सम्म अर्थमन्त्री बनेका भरतबहादुर प्रधानको स्थिति जानकारीमा आएन । २००८ सालमा सुवर्णशमशेर जबराले नेपालको इतिहासमा पहिलोपटक बजेट प्रस्तुत गरेका थिए । वास्तवमा त्यही नै योजनाबद्ध खर्च-आम्दानीको पहिलो व्यवस्थित दस्तावेज थियो । पहिलो बजेट आएको यो ६० वर्षको अवधिमा देशले चार किसिमका शासन व्यवस्था अँगालेको छ बजेट पनि त्यहीअनुरुपका नै आएका छन् । २००७ देखि २०१९ सालसम्म अर्थ मन्त्रालय सम्हाल्नेहरु कोही पनि जीवित छैनन् । २०१९ सालमा अर्थमन्त्री बनेका सूर्यबहादुर थापा अहिले पनि सकि्रय राजनीतिमा छन् । त्यसपछि बनेका केही अर्थमन्त्रीहरुको मृत्यु भइसकेको छ आफ्नो कार्यकालमा चर्चित केही चर्चाविहीन छन् भने केहीको अहिले पनि उत्तिकै चर्चा चल्ने गरेको छ । केही अर्थमन्त्रीले शुरु गरेका नीति तथा कार्यक्रमले अहिले पनि निरन्तरता पाएका छन् भने कुनैको चर्चा नै छैन । यसरी कुनै समय देशको अर्थतन्त्रलाई नेतृत्व प्रदान गरेका जीवित पूर्वअर्थमन्त्री के गर्दै छन् उनीहरु आफूले प्रस्तुत गरेको बजेटलाई कुन रुपमा मूल्याङ्कन गर्छन्  प्रस्तुत छ जनार्दन बराल र मोहन बास्तोलाको रिपोर्ट



सूर्यबहादुर थापा
राजनीतिमा अझै सकि्रय
२०१९ सालमा पहिलोपटक अर्थमन्त्री बनेका थापाले २०२१ सालपछि प्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले । उनी ६ वर्षसम्म उक्त जिम्मेवारीमा रहे । ुत्यसबीचमा मैले चार-पाँचपटक बजेट प्रस्तुत गर्ने अवसर पाएँ हुँलाु उनले स्मरण गरे । मुलुकको आर्थिक अवस्था अत्यन्त कमजोर रहेका बेला अर्थमन्त्री बनेका थापा अनावश्यक खर्चको कटौती गरेर विकास निर्माणका कामलाई बढी प्राथमिकता दिएको बताउँछन् ।

८४ वर्षीय थापा अहिले राष्ट्रिय जनशक्ति पार्टीको अध्यक्ष छन् । उनी हाल पार्टी काम विशिष्ट व्यक्ति र कार्यकर्ताको भेटघाटमा बढी समय दिन्छन् । दैनिक ९ देखि ११ बजेसम्म आफ्नै निवाससँग जोडिएको बहिनी माजु थापाको घरमा बिताउँछन् । विशिष्ट व्यक्तिबाहेक अरुसँग भेटघाट पनि उनी बहिनी माजुको घरमा नै गर्छन् । निरोगी थापाका लागि खसीको मासु वर्जित छ तर कुखुरा र माछामा उनको औधी रुचि छ । थापाको घरबाहिर निस्कने समय दुई बजेपछि मात्र हो ।

सुरेन्द्रबहादुर बस्नेत
आकाशको व्यवसाय 
२०२५ सालमा अर्थमन्त्री बनेका बस्नेतले बजेट घोषणा गर्ने अवसर पाएनन् । उनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्र त्यति सहज थिएन । त्यसअघि सूर्यबहादुर थापाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । थापाको पालामा भारतीय र नेपाली रुपैयाँको भ्यालु बराबर बनाइएको थियो जसका कारण आयात-निर्यातमा समेत समस्या उत्पन्न भएर अर्थतन्त्रमा नै तहसनहस हुने खतरा थियो । करीब ६ महीना अर्थमन्त्री बनेका उनलाई तत्कालीन समयमा बिगि्रएको मुलुकको अर्थतन्त्रलाई सुधार गरेको जस जान्छ ।
पचासीको वयमा हिँडिरहेका बस्नेत अझै पनि सकि्रय व्यवसाय गरिरहेका छन् । उनी बुद्ध एयरको कार्यकारी अध्यक्ष हुन् । भगवान्प्रति अगाध आस्था राख्ने बस्नेतले दैनिक पूजा गर्नकै लागि घरमा गाई पालेका छन् । जावलाखेलस्थित बुद्ध एयरको कार्यालयको तेस्रो तला उनको कार्यकक्ष हो । रोगको आक्रमणबाट अहिलेसम्म जोगिँदै आएका उनलाई कार्यकक्षसम्म पुग्न साहाराको आवश्यकता पर्दैन ।

कीर्तिनिधि विष्ट
अवकाश जिन्दगी
पाचायत कालमा पटकपटक प्रधानमन्त्री बनेका बिष्टले २०२५ र २०२९ मा छोटो समय अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए । आव २०२९/३० सालमा १ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दा खुशीले उप्रुेको धुमिल सम्झना बिष्टलाई अहिले पनि छ । त्यतिबेला विदेशी सहयोग मृगमरिचिका जस्तै थियो । अहिले विदेशी सहयोगका भरमा खबौर्ंको बजेट निर्माण गर्ने चलन देख्दा दिक्क लाग्छ- उनी भन्छन् । अर्थतन्त्र आत्मनिर्भर बन्न नसक्ने हो भने विकास सम्भव नहुने विष्टको तर्क छ । करीब २ वर्षदेखि क्यान्सर र वषौर्ंदेखि मुटुसम्बन्धी रोगको समस्याले थलिएका बिष्टलाई निराशा र छटपटीले समातेको छ । ज्ञानेश्वरमा बस्दै आएका ८६ वर्षीय विष्ट आफूलाई एक्लो महसूस गर्छन् । सामान्य हिँडडुल गर्ने पत्रपत्रिकामा लेख लेख्ने र आफन्तसँग समय बिताउने विष्टका दिनचर्या हुन् । यसलाई उनी राजनीतिपछिको अवकाश जिन्दगी भन्न रुचाउँछन् ।

भेषबहादुर थापा
अध्ययन-अनुसन्धानलाई प्राथमिकता
२०३१ सालमा अर्थ राज्यमन्त्री बनेका थापा करीब १ वर्षपछि अर्थ र सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरे । उनले लगातार पाँचओटा बजेट प्रस्तुत गर्ने मौका पाए । थापाको कार्यकालमा विश्व आर्थिक प्रशासनलाई नेपालमा लागू गर्ने विकासका लागि विदेशी सहयोग जुटाउनेजस्ता महŒवपूर्ण काम भएका थिए । नेपालको विकासमा सहयोग गर्ने दातृनिकाय ुनेपाल विकास समूह टोकियोुको स्थापना पनि उनकै पालामा भएको थियो । उनले पहिलोपटक आव २०३१/३२ मा रु। १० अर्बभन्दा कमको बजेट प्रस्तुत गरेका थिए भने अन्तिमपटकको बजेट १९ अर्ब रुपैयाँको थियो । भारत र अमेरिकाका लागि पटकपटक गरेर उनी १४ वर्ष राजदूत बने । ७५ वर्षीय थापाले लामो समय नेपाल सरकारको सचिवको पनि जिम्मेवारी सम्हालेका थिए । हाल अध्ययन-अनुसन्धानमा व्यस्त उनी स्वदेशमा रहँदा धेरै समय घरपरिवार र आफन्तसँग बिताउने गर्छन् । विभिन्न कामको सिलसिलामा धेरै समय विदेशमा रहन्छन् उनी । आर्थिक क्षेत्रमा लामो अनुभव सँगालेका थापा आवश्यक परेका बेला राज्यलाई सल्लाह-सुझाव पनि दिने गर्छन् ।

प्रकाशचन्द्र लोहनी
वित्तीय उदारीकरणको बिजारोपण
२०४० साल असारमा अर्थमन्त्री बनेका लोहनीले आव २०४१/४२ को बजेट प्रस्तुत गरेका थिए । वित्तीय क्षेत्रलाई उदारीकरण गर्ने श्रेय उनलाई जान्छ । उनले तत्कालीन बैङ्किङ ऐनमा परिमार्जन गरे र नेपालमा निजीक्षेत्रलाई बैङ्क खोल्ने अनुमति प्रदान गरे । ुनिजी बैङ्क खुले भने राष्ट्रिय बैङ्क डुब्छन् भन्ने मान्यता थियो । तर उद्यमी वर्गको उत्थानका लागि निजीक्षेत्रमा वित्तीय संस्थाको विकास गर्नुपर्छ भन्ने मान्यताका साथ मैले यस्तो नीति ल्याएँ- लोहनी भन्छन् । त्यस्ता संस्थाहरुमा जनस्वामित्व स्थापित गर्न भनेर उनले ३० प्रतिशत शेयर जनतालाई दिनैपर्ने व्यवस्था गरे । उनले त्यस समयमै वित्तीय संस्था ऐन ल्याए धितोपत्र बजार खडा गर्न पूर्वाधार विकासको अवधारणा ल्याए । सरकारी संस्थानहरुको १५ प्रतिशत शेयर निजीक्षेत्रलाई बेच्ने कार्यक्रम उनले घोषणा गरेका थिए तर त्यो अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । २०६१ सालमा ११ महीनाका लागि पुनः अर्थमन्त्री बने । त्यसबेला उनले सार्वजनिक-निजी साझेदारी पीपीपीको अवधारणा शुरुआत गरे ।
हाल राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष रहेका लोहनी व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिका सदस्य छन् । सबै किसिमका रोगलाई जित्दै आएका उनी मार्शल आर्टका शौखिन खेलाडी हुन् ।

पशुपतिशमशेर जबरा
पार्टी मर्जरमा ध्यान
हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रहेका जबरा २०४६ साल चैत २४ गते अर्थमन्त्री बनेका थिए । पाचायती शासनका अन्तिम अर्थमन्त्री उनको कार्यकाल करीब १२-१३ दिन मात्र रह्यो । जनआन्दोलन शिखरमा पुगिरहेको बेला तत्कालीन सरकारको ध्यान आन्दोलनलाई कसरी सुरक्षित अवतरण गर्ने भन्ने कुरामा नै बढी केन्द्रित भएकाले अन्य कुरामा सोच्ने फुस्रद नै नभएको जबरा बताउँछन् । राणाशासनका अन्तिम प्रधानमन्त्री मोहनशमशेरका नाति उनको दिनचर्या मुख्य गरेर पार्टी व्यवस्थापनमा नै बित्ने गरेको छ । आफ्नै पार्टीबाट फुटेर बनेको राष्ट्रिय जनशक्ति पार्टीसँग पुनः मिलाप गर्ने योजनामा जबरा केन्द्रित भएका छन् ।

देवेन्द्रराज पाण्डे
अगुवाइ नागरिकको
२०४७ सालमा बनेको अन्तरिम मन्त्रिमण्डलको अर्थमन्त्री बनेका पाण्डेले एउटा मात्र बजेट प्रस्तुत गरेका थिए । प्रजातान्त्रिक समाजवादप्रति झुकाव भएका उनलाई त्यतिबेला नागरिक प्रतिनिधिका तर्फबाट मन्त्रीको जिम्मेवारी दिइएको थियो । उनी त्यस समयमा काङ्ग्रेसनिकट मानिन्थे । उनले आफ्नो पालामा ग्रामीण स्वावलम्बन विकास कोष नागरिक लगानी कोषलगायतको अवधारणा ल्याएका थिए । नागरिक लगानी कोष अहिले पनि साचालनमा छ । नागरिक समाजका अगुवाका रुपमा आफ्नो परिचय बनाएका पाण्डे अहिले अध्ययन-अनुसन्धानमा लागेका छन् । राजनीतिक परिपाटी नसुधि्रने  र कानूनी शासनको प्रत्याभूति नहुने हो भने आर्थिक विकास सम्भव नहुने पाण्डेको धारणा छ । भर्खरै उनले लेखेको पुस्तक लुकिङ एट डेभलपमेण्ट एण्ड डोनस्र प्रकाशित भएको छ ।

महेश आचार्य
आर्थिक उदारीकरणको शुरुआत
२०४८ सालको आम निर्वाचनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आचार्य अर्थराज्यमन्त्री बनेका थिए । तर अर्थमन्त्रीकै हैसियतमा उनले लगातार चारओटा बजेट प्रस्तुत गरे । पुनः २०५६ सालमा अर्थमन्त्री बनेका उनले लगातार दुईओटा बजेट प्रस्तुत गर्ने मौका पाए । राज्यनियन्त्रित अर्थतन्त्रलाई सरकारी हस्तक्षेपबाट मुक्त गराएर आर्थिक उदारीकरणको शुरुआत गर्ने कार्य उनकै पालामा भएको थियो । सरकारको लगानी ग्रामीण पूर्वाधारको विकासमा खर्च गर्ने उच्च आर्थिक विकास गर्ने साथै गरीबी निवारणका निम्ति प्रोत्साहन गर्ने काम पनि उनकै पालामा भएको थियो । ुमुलुकका राजनीतिक दलले साझा आर्थिक एजेण्डा निर्माण गर्नसक्ने हो भने नेपालले १० वर्षमा आर्थिक विकासमा कायाकल्प गर्न सकिन्छु आचार्यको दाबी छ । नेपाली काङ्ग्रेसको केन्द्रीय समितिमा रहेका उनी अध्ययन अनुसन्धान पार्टी काम र कार्यकर्ता भेटघाटमै व्यस्त हुन्छन् ।

भरतमोहन अधिकारी
बजेटपछि विश्राम
मनमोहन अधिकारीको नेतृत्वमा बनेको नेपालको पहिलो कम्युनिष्ट सरकारको पालामा २०५१ सालमा भरतमोहन अधिकारी पहिलोपटक अर्थमन्त्री बनेका थिए । काङ्ग्रेस सरकारले शुरु गरेको उदारीकरणको नीतिलाई अधिकारीले प्रस्तुत गरेको बजेटले पनि निरन्तरता दियो । उनको आफ्नो गाउँ आफै बनाऊँ कार्यक्रमले नेपालमा वास्तविक विकेन्द्रीकरण लागू गरायो । उनले शुरुमा ७५ वर्ष उमेर कटेकालाई वृद्धभत्ता दिन शुरु गरेर अशक्त नागरिकप्रति राज्यको दायित्व प्रकट गरे । यी दुवै कार्यक्रमलाई त्यसपछिका सरकारले रोक्न सकेनन् र अहिलेसम्म पनि निरन्तर चालू छन् । नौ स कार्यक्रमलाई पनि आफूले शुरु गरेका उल्लेखनीय उपलब्धि ठान्छन् उनी । २०५५ सालमा अधिकारी पुनः अर्थमन्त्री भए । उनी २०६१ सालमा उपप्रधान तथा अर्थमन्त्रीको हैसियतमा प्रस्तुत गरेको बजेटमा गाउँगाउँमा सहकारी-घरघरमा रोजगारी कार्यक्रम परेको थियो जुन अहिलेसम्म पनि जीवित छ । अधिकारी अहिले पनि उपप्रधानमन्त्री तथा अर्थमन्त्री छन् । नेपालमा पहिलोपटक वास्तविक विकेन्द्रीकरण र सामाजिक सुरक्षाको व्यवस्था शुरुआत गरेको बताउने अधिकारीले बजेटमा उत्पादन उत्पादकत्व र रोजगारी वृद्धि गरी नेपाली अर्थतन्त्रको सामाजिक न्यायसहितको विकासलाई अगाडि बढाउने कुरालाई प्राथमिकता दिएका छन् । उनले गएको असार ३१ गते बजेट प्रस्तुत गरे । सहकारी क्षेत्रको विकासमा यो बजेटले विशेष पहल गरेको छ ।

रामशरण महत
फुस्रदको समय गोल्फलाई
पाँचपटक अर्थमन्त्री भएका महतले ६ ओटा बजेट प्रस्तुत गरेका छन् । उनी सम्भवतः सबैभन्दा धेरैपटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्री हुन् । २०५२ सालमा पहिलोचोटि अर्थमन्त्री बनेका महत आर्थिक उदारीकरण र वित्तीय क्षेत्र सुधारमा सकारात्मक पहल गरेको बताउँछन् । वित्तीय क्षेत्रको सुधार सिक्टा सिँचाइ परियोजना मध्य-पहाडी लोकमार्ग अरुण तेस्रो कालीगण्डकी ए मध्यमस्र्याङ्दीजस्ता जलविद्युत् योजनाको अवधारणा पनि उनकै पालामा आएका हुन् । मूल्य अभिवृद्धिकरको शुरुआत पनि महतकै पालमा भएको थियो । नयाँ कर प्रणालीको शुरुआत राजस्व नीतिमा सुधारजस्ता काम गरेको बताउँछन् उनी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महत संविधानसभा सदस्यको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।  उनी व्यवस्थापिका-संसद्को अर्थ तथा श्रम सम्बन्ध समितिको सदस्य छन् । संविधान निर्माण र पार्टी कामबाट फुस्रद मिल्दा उनी गोल्फ खेल्न र अध्ययनमा बिताउन मन पराउँछन् ।

बद्रीप्रसाद श्रेष्ठ
सामाजिक कार्यमा सकि्रयता 
२०५९ सालमा अर्थमन्त्री बनेका उनले बजेट प्रस्तुत गर्ने अवसर पाएनन् । तहस-नहस भएको अर्थतन्त्रलाई आफ्नो पालामा सही ठाउँमा ल्याउन महŒवपूर्ण योगदान गरेको उनी बताउँछन् । वित्तीय सन्तुलन कायम गर्ने काममा पनि उनको भूमिका महŒवपूर्ण रह्यो । उनले अर्थमन्त्री भएको १३ दिनमा नै ुबृहत् आर्थिक सुधार कार्यक्रमु ल्याएका थिए । करीब ११ वर्ष योजना आयोगमा बिताएका श्रेष्ठ २०३१-०३२ सालतिर आयोगको उपाध्यक्षसमेत भएका थिए ।  जापानको राजदूत भएर ६ वर्ष काम गरेका श्रेष्ठले करीब नौ महीना अर्थ मन्त्रालयमा बिताए । श्रेष्ठ अर्थमन्त्री रहेको बेला राजस्व करीब १४ प्रतिशतले वृद्धि भएको थियो । बुटवल पावर कम्पनीलाई निजीकरण गर्ने काम उनकै पालामा भएको थियो । २ वर्षदेखि नसासम्बन्धी रोगले थलिएर बसेका श्रेष्ठ कमै मात्रामा हिँडडुल गर्छन् । अस्वस्थताका कारण खासै धपेटीमा नरहेका उनी नेपाल आँखा अस्पतालको संस्थापक सदस्य हुन् । नेपाल अपाङ्ग सङ्घको पनि उनी संस्थापक नै हुन् । विविध विषयका १२ ओटा पुस्तक लेखिसकेका श्रेष्ठले सम्झना र विचार आत्मवृत्तान्त भर्खर प्रकाशन गरेका छन् । जापानी संस्था ओस्काको नेपाल च्याप्टर अध्यक्ष रहेका उनको नेतृत्वमा मुलुकभर करीब १५ लाख बिरुवा रोपिएका छन् ।


मधुकरशमशेर जबरा
प्राध्यापन र व्यवसाय
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनसत्ता रहेको बेला २०६१ माघमा अर्थमन्त्री बनेका जबराले एउटा मात्र बजेट प्रस्तुत गरेका थिए । उनी करीब ११ महीना अर्थमन्त्री रहे । विदेशीलाई अपार्टमेण्ट खरीदका लागि सहज वातावरण निर्माण गर्ने समुदायमा आधारित विकासमा जोड दिनेजस्ता कार्यक्रमलाई उनले बजेटमा प्राथमिकता दिएका थिए । स्थानीय सरकार नभएको तत्कालीन अवस्थामा ग्रामीण विकासमा टेवा पुर् याउने उद्देश्यले म्याचिङ ग्राण्डको अवधारणा पनि उनकै पालामा  ल्याइएको थियो । 
हाल उनी साउथ एशियन इन्ष्टिच्युट अफ म्यानेजमेण्टमा प्रध्यापनरत छन् । जबराको जावलाखेलमा शालिग्राम अपार्टमेण्ट होटल छ । खेल र अध्ययनमा औधी रुचि भएका उनको दिनचर्या त्यति व्यस्त छैन । उनी नियमित टेनिस खेल्छन् । हाल उनी सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री इस्लामावादको सदस्य तथा एकेडेमिक एडभाइजर छन् । त्यस्तै इण्टरनेशनल एडभाइजरी प्यानल अफ साउथ एशियन पोलिसी रिसर्च इण्ष्टिच्युट कोलम्बोको पनि सदस्य छन् ।

डा रुप ज्योित
व्यवसायमै तनमन 
 
तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते प्रत्यक्ष शासनसत्ता आफ्नो हातमा लिएपछि डा रुप ज्योतिलाई अर्थ सहायकमन्त्री बनाएका थिए । त्यसबेलाका अर्थमन्त्री मधुकरशमशेर जबराका ठाउँमा २०६२ माघमा उनलाई अर्थ राज्यमन्त्रीका रुपमा प्रतिस्थापन गरियो । तर उनी राज्यमन्त्री भएको ३ महीनाकै बीचमा दोस्रो जनआन्दोलन सफल भएपछि उनले बजेट प्रस्तुत गर्न भने पाएनन् ।
डा ज्योति नेपालका प्रतिष्ठित व्यवसायी हुन् । साथै ज्योति ग्रूपका उपाध्यक्ष हुन् ।

डा बाबुराम भट्टराई
प्रधानमन्त्रीको तयारी
संविधानसभाको निर्वाचनमा नेकपा माओवादी सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएपछि भट्टराईले अर्थ मन्त्रालयको जिम्मेवारी पाए । गणतन्त्र नेपालका पहिलो अर्थमन्त्री भट्टराईले आव २०६५÷६६ को बजेट प्रस्तुत गरे । उनले ठूला पूर्वाधार निर्माण र रोजगारी सृजनामा आफ्नो बजेटलाई केन्द्रित गरे । उनले ुयुवा स्वरोजगार कार्यक्रमु शुरु गरे पनि हालसम्म त्यो कार्यान्वयन हुन सकेको छैन । त्यस्तै सबै गाविसलाई समान अनुदान दिइँदै आएकोमा उनले जनसङ्ख्या लागत र क्षेत्रफलका आधारमा रकम प्रदान गर्ने व्यवस्था ल्याए । गाविसलाई दिने अनुदान रकमलाई ३० लाख रुपैयाँसम्म पुर् याइयो । सम्पत्तिको स्वयम् कर घोषणा गरेका डा। भट्टराई इतिहासमै सबैभन्दा बढी साढे ३३ प्रतिशत राजस्व असुली बढाएर पनि चर्चित भए । ुनेपाललाई सर्पजस्तो घिस्रने होइन भ्यागुतोजस्तो उप्रुने आर्थिक वृद्धि आवश्यक छु भन्ने उनको भनाइ चर्चित छ । एनेकपा माओवादी उपाध्यक्षत्रयमध्ये डा। भट्टराई पनि एक हुन् । एमाओवादीले उनलाई भावी राष्ट्रिय सरकारको प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेको छ । प्रत्येक महीना आफ्नो गृहजिल्ला गोरखा पुग्ने उनी पार्टी काममै व्यस्त छन् ।

सुरेन्द्र पाण्डे 
प्रधानमन्त्रीका अघोषित सल्लाहकार

सुरेन्द्र पाण्डे करीब २१ महीना अर्थमन्त्री बने । उनले तीनओटा बजेट प्रस्तुत गर्ने अवसर पाए । ती तीनओटै बजेट भिन्न प्रकृतिका थिए । उनले आव २०६६-६७ मा पहिलोपटक पूर्ण बजेट प्रस्तुत गरेका थिए । ुदोस्रो एक तिहाइको बजेट ल्याएँ । तेस्रो भने पूर्ण नै ल्याएँ तर अध्यादेशमार्फतु पाण्डेले भने । पाण्डे आफूले प्रस्तुत गरेको बजेट समाजवादउन्मुख भएको दाबी गर्छन् । सामाजिक सुरक्षा करसम्बन्धी व्यवस्था दलित र गैरदलितबीचको विवाहलाई प्रोत्साहन जनताको तटबन्ध कार्यक्रम कर्णालीलगायत पिछडिएका क्षेत्रका सबैलाई पोषणभत्ता कार्यक्रम जनताको आवास मध्य-पहाडी लोकमार्गमा १० ठूला शहर बनाउनेजस्ता योजनालाई पाण्डेले बजेटमा प्राथमिकता दिएका थिए ।
नेकपा एमालेको तर्फबाट संविधानसभामा प्रतिनिधित्व गरिरहेका पाण्डे संवैधानिक समितिका सदस्य छन्  । प्रधानमन्त्री झलनाथ खनालका विश्वासपात्र उनी प्रधानमन्त्रीका प्रत्येक निर्णयमा सल्लाह दिने गर्छन् । उनी एमालेका पोलिटब्युरो सदस्य पनि हुन् ।

नाम अर्थमन्त्री भएको मिित
सुवर्णशमशेर जबरा२००७-२०१० २०१५-२०१७
मातृकाप्रसाद कोइराला२०१०-२०१२
गुाजमान िसंह२०१२-२०१३
देवमान आङदेम्बे२०१३-२०१४
सीबी िसंह२०१४-२०१५
ऋषिकेश शाह२०१७-२०१९
सूर्यबहादुर थापा२०१९-२०२५ २०३६-२०३७ प्रम तथा अर्थ
सुरेन्द्रबहादुर बस्नेत२०२५ असोज- चैत 
कीर्तिनिधि विष्ट२०२५-२०२६ २०२८-२०३०
गेहेन्द्रबहादुर राजभण्डारी२०२६-२०२७
ज्ञानेन्द्रबहादुर कार्की २०३० साउन- चैत
भेषबहादुर थापा२०३०- २०३२ राज्यमन्त्री २०३२-२०३४
डा रामप्रसाद राजबाहक२०३४-२०३६ राज्यमन्त्री
डा यादवप्रसाद पन्त२०३७-२०३८ राज्यमन्त्री २०३८-२०४० मन्त्री
डा प्रकाशचन्द्र लोहनी२०४०-२०४३ २०६०-२०६१
भरतबहादुर प्रधान२०४३-४६
पशुपतिशमशेर जबरा२०४६ चैत २४-२०४७ वैशाख ५
डा देवेन्द्रराज पाण्डे२०४७-२०४८
महेश आचार्य२०४८-२०५१ राज्यमन्त्री
भरतमोहन अधिकारी२०५१-२०५२ २०५५-२०५६ २०६१ असार- माघ२०६६- हालसम्म
डा रामशरण महत२०५२-२०५३ २०५५ वैशाख-पुस २०५७-२०५९ २०६३-२०६५
रवीन्द्रनाथ शर्मा२०५३-२०५५
डा बद्रीप्रसाद श्रेष्ठ२०५९-२०६०
मधुकरशमशेर जबरा२०६१-२०६२
डा रुप ज्योित२०६२-२०६३ राज्यमन्त्री
डा बाबुराम भट्टराई२०६५-२०६६
सुरेन्द्र पाण्डे२०६६-२०६७

स्रोत : नेपालका मन्त्रीहरु भैरव रिसाल र राममणि रिसाल
 

Tuesday, April 5, 2011

यी हुन् राष्ट्र लुट्ने ठूला व्यापारी

चौधरीदेखि भाटभटेनी स्टोरसम्मका ठगी नालीबेली

काठमाडौं । सतो टिर्सट लगाएर शान्तिको वकालत गर्ने, संविधान निर्माणका लागि राजनीतिक दललाई दबाव दिएको भन्दै भाषण गर्ने देशका घरानीय ब्यापारीहरुको कालो अनुसार उदाङ्गो हुँदै गएको छ ।
आन्तरिक राजश्व बिभागले थालेको नक्कली भ्याट बिल प्रकरणमा मुछिएका अनुहारहरु कुनै न कुनै दलको बुई चढेर सभासद् बनेका र शासन चलाउनेसम्म प्रत्यक्ष पहुँच भएका ब्यबसायीहरु छन् । जसले एक दुई लाख वा दुई चार करोडमात्रै हैन अरवौं रुपैयाँ कर छली गरेर अकुत सम्पत्ति कमाएका छन् ।
नक्कली भ्याट बिल छानविन प्रारम्भ भएपछि उनीहरुले स्वभाविकरुपमा आफ्नो राजनीतिक पहुँच प्रयोग गरेर मन्त्री फेरे, सचिवलाई राजीनामा दिन बाध्य बनाए अनि अनुसन्धानमा संलग्न अधिकारीहरुलाई रातारात सरुवा गरे ।
अब उनीहरु पुरक बजेटसँगै कानुन संशोधन गराएर कम जरिवाना तिरेरै उम्कने तयारीमा छन् । नक्कली नोट छापे बराबरको यो अपराधमा उनीहरुलाई सामान्य जरिवाना तिराएर उम्काउने प्रयास भइरहेको छ भने मुलुक लुट्नेहरुको सूचना गोप्य राखेर उनीहरुलाई पुनः लुट्ने मार्ग प्रसस्तसमेत गरिदैछ ।
यी हुन् राष्ट्र लुट्ने व्यापारी
आन्तरिक राजस्व विभागले छानविन गरिरहेका ५२ कम्पनीमध्ये ३१ कम्पनीले नक्कली भ्याट बिलबाट राजस्व छलेका छन् । यी ३१ कम्पनीमध्ये २४ वटा कम्पनीले नक्कली भ्याटबिलको कारोबार गरेर दुई अर्ब ७० करोड रुपैयाँको भ्याट र आयकर छलेका छन् भने सातवटा कम्पनीले नक्कली निकासीको प्रमाणपत्र पेश गरेर भ्याट फिर्तावापत सरकारबाट ८९ करोड रुपैयाँ लिएका छन् ।
नक्कली भ्याट बिल अपराधमा संलग्न हुनेहरुमा औद्योगिक घराना चौधरी, गोल्छा, विशाल, शंकर, वरुण डेभलपर्स, भाटभटेनी सुपरमार्केट र चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनीसम्म छन् । नक्कली भ्याट बिल प्रकरणमा संविधानसभा सदस्य चौधरी समूहका अध्यक्ष विनोद चौधरी र गोल्छा समूहका दिवाकर गोल्छाका र्फमहरु समेत छन् । चौधरीलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले संविधानसभा सदस्य बनाएको हो भने गोल्छालाई नेपाली कांग्रेसको कोटाबाट मनोनित गरिएको हो ।
शंकर समूह
छानविन गरिएका ३१ वटा र्फममध्ये शंकर समूहको जगदम्बा स्टिलको सबैभन्दा बढी नक्कली भ्याट बिल फेला परेको छ । आन्तरिक राजस्व विभाग स्रोतका अनुसार, जगदम्बाको ८० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ ।
पहिले ८० करोडको ३८ प्रतिशत तिरे पुग्थ्यो छानविनपछि ८० करोडको नक्कली बिलबाट झण्डै ६० करोड रुपैयाँ कर निर्धारण भएको छ । ८० करोडको १३ प्रतिशत भ्याट, २५ प्रतिशत आयकर र त्यति नै जरिवाना तथा वर्षको १५ प्रतिशतका दरले व्याजसमेत हिसाव गर्दा ८० करोडको ७५ प्रतिशत सरकारलाई तिर्नुपर्दछ, स्रोतले भन्यो । त्यो भनेको ६० करोड रुपैयाँ हो ।
भारतबाट ४० वर्ष अघि शुन्य रुपैयाँ लिएर नेपाल आएका शंकरलाल गोल्यानका अहिले डेढ दर्जन उद्योग छन् । डेढ दर्जन उद्योगमध्ये जगदम्बा स्टिल सबैभन्दा ठूलो कम्पनी हो । वर्षमा शंकर समूहले २६ अर्ब रुपैयाँको कारोवार गर्ने दावी गोल्यानले आˆनो वेभसाइटमा गरेका छन् । ५२ वटा कम्पनीको छानविन सकिएपछि दोस्रो लटमा छानविनका लागि सूची बनाइएका ४८० र्फममा गोल्यानका अन्य र्फमहरु पनि छन् । यसै समूहका पवनकुमार गोल्यान एनएमबी बैंकका अध्यक्ष छन् ।
चौधरी ग्रुप
चौधरी ग्रुप अन्र्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनीको पनि नक्कली भ्याट बिल प्रकरणमा छ । चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट छ करोड रुपैयाँ बराबरको नक्कली बिल फेला परेको छ । चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट बिल प्रकरणमा छ । छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच खाद्य कम्पनीमध्ये सिजी फुड पनि छ । ‘सिजी फुडबाट पनि करोडौं रुपैयाँका नक्कली भ्याट बिल फेला परेका छन्’ आन्तरिक राजस्व विभाग स्रोतले जानकारी दियो ।
नेपालबाहिर दर्जनौं होटल खोल्ने भनेर चर्चामा आएको चौधरी समूहको सिजि इलेक्ट्रोनिक्स र सिजी इम्पेक्सले नेपालमा एलजी, सिजी कम्पनीका विद्युतीय उपकरणको विक्री गर्दै आएका छन् । उता सिजी फुड भने वाईवाइ चाउचाउको उत्पादन कम्पनी हो ।
सभासद् चौधरीका भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको पनि १६ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेको छ । विभागले आठ वटा सवारीसाधनको अधिकृत विक्रेताको छानविन गरेको थियो जसबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ । ‘छलि गर्नेमा सबैभन्दा ठूलो अरुण इन्टरकन्टिनेन्टल हो’ विभाग स्रोतले बतायो ।
गोल्छा समूह
दिवाकर गोल्छाको नेतृत्वमा रहेको गोल्छा समूह अन्र्तगतको हिम इलेक्ट्रोनिक्सको पनि छ करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ । हिम इलेक्ट्रोनिक्सको जिम्मा गोल्छा समूहका उदयीमान निर्देशक शेखर गोल्छाको नेतृत्वमा छ ।
गतवर्ष गोल्छा समूहकै अर्को र्फम नियोटेरिक पनि राजस्वको अनुसन्धानमा दोषी पाइएको थियो । यही कम्पनीले अगि्रम मिती राखेर भ्याट विल जारी गरेपछि राजस्वले गोल्छा समूहलाई शंकको घेरामा राखेको थियो । यहींबाट आन्तरिक राजस्व विभागले नक्कली भ्याट विलको कारोवार भैरहेको हुनसक्ने अनुमान गरेको थियो । तर पछि पुतलिसडकको एउटा र्फममा छापा मार्दा दुई सयभन्दा बढी कम्पनीको नक्कली भ्याट बिल फेला पारेपछि मंसिरबाट भ्याट छलिसम्वन्धी अहिलेसम्मकै ठूलो अपरेशन सुरु गरिएको थियो ।
बिशाल समूह
चर्चामा नआउने तर ठूलो व्यवसायिक सञ्जाल भएको विशाल समूहको युनाइटेड डिष्ट्रिव्युटर पनि नक्कली भ्याट बिल प्रकरणमा फसेको छ । आन्तरिक राजस्व विभागले छानविनका क्रममा मल्टिनेशनल कम्पनीको सूचीमा राखेको युनाइटेड डिष्ट्रिव्युटरबाट १० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ ।
युनाइटेड डिष्ट्रिव्युटरले भारत लगायत तेस्रो मुलुकबाट सौन्दर्य तथा दैनिक उपभोग्य सामान आयात गरेर थोक विक्री गर्दै आएको छ । राजनीतिक रुपमा अर्थमन्त्रीसँग पहुँच भएको यो समूहले बैंक तथा वित्तिय संस्था, इन्सुरेन्स कम्पनी, ट्रेडिङ हाउस लगायतमा लगानी छ ।
विशाल समूहका अध्यक्ष जेपी अग्रवाल एनआईसी बैंकका अध्यक्ष समेत हुन्, समूहका उपाध्यक्ष टीआर अग्रवाल र निर्मल अग्रवाल एनआईसीमा बोर्ड सदस्य छन् । उता यही समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल भने बैंक अफ एसियाका अध्यक्ष छन् भने अनुज अग्रवाल बोर्ड सदस्य छन् । स्रोतका अनुसार नक्कली भ्याट बिल प्रकरणमा छानविनका लागि दोस्रो सूचीका ४८० र्फममा विशाल समूहका अन्य र्फम पनि छन् ।
भाटभटेनी सुपरमार्केट
यही वर्ष छोरीलाई दाइजोमा दिन ‘एअर कार्गो’मा करोडौं रुपैयाँ खर्च गरेर मर्सिडिज वेञ्च कार झिकाएका मिनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपरमार्केट पनि नक्कली भ्याट बिल प्रकरणमा फसेको छ । महाराजगञ्ज र भाटभटेनीमा गरी दुईवटा सुपरस्टोर सञ्चालन गरिरहेको भाटभटेनी सुपर मार्केटको ८ करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ ।
‘भाटभटेनीको मुद्धा अहिले छानविनमा बाँकी रहेका पाँचवटा कम्पनीमध्येको एक हो, छिट्टै कर निर्धारण हुन्छ’ आन्तरिक राजस्व विभाग स्रोतले अनलाइनखबरलाई जानकारी दियो । भाटभटेनीले पनि नक्कली बिलको झण्डै ७५ प्रतिशत रकम तिर्नुपर्दछ, स्रोतले भन्यो । ‘धेरैजसो नक्कली बिल मारवाडी समुदायसँग सम्वन्धित उद्योगमा फेला परेको थियो, भाटभटेनीमा कसरी पुगेछ कुन्नी’ अनुसन्धानमा संलग्न एक अधिकृतको टिप्पणी थियो ।
बरुण डेभलपर्स
गतवर्ष नेपालमा पहिलोपटक फुड चेन केएफसी र पिज्जा हट भित्र्याएर चर्चामा आएको भारतीय लगानीकर्ता रविजैन ताजपुरीयाको कम्पनी आरजे कर्पको र्फम वरुण डेभलपर्स पनि नक्कली भ्याट बिल प्रकरणमा छ । यसैको प्यारेन्ट कम्पनी आरजे कर्पले नेपालमा पेप्सीको उत्पादक वरुण वेभरेज र केएफसी पिज्जाहटमा लगानी गरेको छ ।
वरुण डेभलपर्सले धापासी काठमाडौंमा पार्कभ्यु होराइजन नामका सुविधासम्पन्न अर्पाटमेन्ट बनाएर विक्री गरेको छ । एउटै अर्पाटमेन्टलाई एक करोड १९ लाखदेखि दुई करोड ५३ लाखसम्म विक्री गर्ने वरुण डेभलपर्सको १५ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेको छ । यो कम्पनीका नाममा झण्डै ११ करोड रुपैयाँभन्दा बढी कर निर्धारण गरिएको छ ।
चमेलिया जलबिद्युत आयोजना
नक्कली भ्याट विल प्रकरणमा चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी पनि फसेको छ । चमेलिया जलविद्युत आयोजनाको सिभिल निर्माणमा ठेक्का पाएको चाइना गेजुवा वाटर एण्ड पावर गु्रप कम्पनीले भेरिएशन बढाउनका लागि नक्कली बिल खरिद गरेको स्रोतले बतायो । झण्डै ६० करोड रुपैयाँको नक्कली भ्याट बिल किनेर परियोजनाले भेरिएशन बढाएको थियो । तर खर्चमा देखाउन भ्याट बिल किने पनि चमेलियाले भ्याट भने तिरेको छैन ।
युनाइटेड बिल्डर्स
यसैगरी यो सूचीमा युनाईटड विल्डर्स पनि परेको छ । अनामनगरमा रहेको मार्फा हाउसबाट ठेकेदारी धन्दा गर्ने सकुन्तलाल हिराचनको कम्पनी युनाइटेड विल्डर्स पनि राजस्व छलीमा फेला परेको ठूलो कम्पनी हो । स्रोतका अनुसार युनाइटेड विल्डर्सबाट १३ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेको छ । त्रिपुरेश्वरमा वल्र्ड ट्रेड सेन्टर बनाएको युनाइेटेड विल्डर्सले वीर अस्पतालको ट्रमा सेन्टर पनि बनाएको थियो । कम्पनी नक्कली भ्याट बिलमा फसेपछि यसै त हिराचनको हालत खराब भएको छ अर्कोतर्फ वल्र्ड ट्रेड सेन्टरबाट पसल भाग्न थालेपछि थप विचल्ली भएको छ । राजधानीमा थुप्रै मलहरु खुल्न थालेपछि वल्र्ड ट्रेड सेन्टरको व्यापार ओरालो लाग्दो छ ।
थलमानले पनि लुटे देश
अरु सबैले नक्कली भ्याट बिलको कारोवार गरेर देश लुटे पनि केही चार्टड एकाउटेण्ट भने सरकारको ढुकुटीबाट सिधै डाँका मार्ने धन्दामा लागेका छन् । उनीहरुले सामान निकासी गरेको नक्कली कागजात पेश गरेर तिर्दै नतिरेको भ्याट सरकारको ढुकुटीमा सिधै निकालेका थिए । यस्तो सूचीमा हिसावकिताव मिलानको काम गर्ने थलमान सुवेदी छन् । थलमान सुवेदीको दुईवटा र्फमले झण्डै ६० करोड रुपैयाँको निकासी देखाएर झण्डै १० करोड रुपैयाँ ‘भ्याट रिफण्ड’ लिएका थिए ।
वानेश्वरमा कार्यालय खोलेका थलमानलाई प्रष्टिकरण दिन आन्तरिक राजस्व विभागले पटक पटक पत्राचार गरे पनि उनी भने फरार छन् । नक्कली कागजात बनाएर राजस्व छलेको सार्वजनिक भएपछि थलमानको कार्यालय बन्द छ । लामो समयदेखि कार्यालय बन्द राखेका थलमान विरुद्ध सञ्चारमाध्यममा दोस्रो पटक सार्वजनिक सूचना आएपछि उनले कार्यालयका कम्युटर र फाइल लगेर हिंडेका छन् । केही दिनअघिमात्रै रात परेपछि उनका सहयोगीहरुले कार्यालय पुगेर फाइल र कम्युटर लगेका थिए ।
 अनलाइनखबर

Friday, April 1, 2011

नेपाली बालकथाको अङ्गे्रजी सङ्ग्रह

जनार्दन बराल

लगभग सवा सय वर्षमा नेपाली बालसाहित्यमा ३ सयभन्दा बढी कृतिहरुको जन्म भएको छ । तर अझै पनि नेपाली बालसाहित्य आफैँ बच्चा बेलैमा रहेको छ । यसले विश्वस्तरीयता अझै प्राप्त गरेको छैन भन्ने गरिएको छ ।
नेपाली बालसाहित्य जति र जुन रुपमा लेखिएको छ त्यो विश्वस्तरमा पुगेको छैन । नेपाली बालसाहित्यको विदेशी भाषामा अनुवाद विरलै हुने गरेको छ । यसले गर्दा पनि विदेशी पाठकहरुले नेपाली बालसाहित्यको स्वाद लिन पाएका छैनन् भने समीक्षकहरुले यसको मूल्याङ्कन गर्न पाएका छैनन् । यही अभाव पूर्ति गर्नका लागि नेपाली बालसाहित्यको अग्रणी संस्था बालसाहित्य समाजले नेपाली बालसाहित्य विशेषगरी कथाहरु अङ्ग्रेजीमा अनुवाद गराई प्रकाशन गर्ने प्रयास गरेको छ । बालसाहित्य समाजको प्रयासबाट प्रकाशित ुनेपालका बालकथाहरु चिल्ड्रेन स्टोरिज प्रुम नेपाल ले विदेशी पाठकहरुसमक्ष नेपाली बालसाहित्यको स्वाद चखाउने विश्वास लिन सकिन्छ ।
यो चिल्ड्रेन स्टोरिज प्रुम नेपाल पुस्तकमा नेपाली बालसाहित्यमा कलम चलाइरहेका ५२ जना स्रष्टाहरुका कथाहरु अनुवादित छन् । यसमा पुरानो पुस्ताका कथाकारहरु देवकुमारी थापा रमेश विकलदेखि नयाँ पुस्ताका अनुराधा शर्मासम्मका कथाहरु समावेश छन् । त्यसबीचका कथाकारहरुका विभिन्न स्वादका कथाहरु यस कृतिमा पाउन सकिन्छ ।
पुस्तकमा देवकुमारी थापाको ुसुनको पखेटा भएकी चरीु द बर्ड विद गोल्डेन विग्स कथा प्रकाशित छ । एउटा राजकुमारले बोक्सीको पाजाबाट अन्य विभिन्न देशका राजकुमारको उद्धार गरेको प्रसङ्ग यो कथामा छ । त्यो सुनको पँखेटा भएकी चरी पनि बोक्सीको पाजामा परेकी एउटी राजकुमारी हुन्छे । उसको पनि उद्धार गरी राजकुमारले उसैसँग बिहा गर्छ । यो कथा यथार्थभन्दा पनि स्वैरकल्पनामा आधारित छ ।
सङ्ग्रहमा रमेश विकलको ुकिसान र घाँस नखाने गाईु कथा प्रकाशित छ । यो कथामा मुखियाको छोरालाई जस्तै आफ्नो छोरालाई पनि गाईको दूध खुवाउनका लागि एकजना किसानले गाई किनेर ल्याउँछ । भोकाएको गाईलाई घाँस खुवाउनका लागि उसले गाईलाई छानामा चढाउन खोज्छ । तर गाई छानामा चढ्दैन । एउटा छिमेकीले गाईलाई घाँस खुवाउने काइदा सिकाइदिएर दही खान्छ । यो गाईलाई छानामा चढाउन खोज्ने मूर्ख किसानको कथा हो ।
शान्तदास मानन्धरको ुसगुनको पेस्तोल र उसको रकेटु सगुन्स पेस्तोल एन्ड हिज रकेट कथा तिहारको परिवेशलाई चित्रण गरिएको कथा हो । यस कथामा बारुद पड्काउने सगुनको पेस्तोल हराउँछ । उसले जति खोजे पनि भेट्दैन । त्यसपछि ऊ रुन्छ । आमाले उसलाई फकाउन भनेर केही पैसा दिनुहुन्छ । उसले त्यो पैसाले रकेट पटाका किनेर ल्याउँछ र भाइसँग मिलेर सल्काउँछ । तर त्यो रकेट आकाशतिर नगएर एकजना काकाको घरमा छिर्छ । त्यो घरमा त्यसका माध्यमबाट आगो सल्कन्छ । त्यो आगोलाई छिमेकीहरु मिलेर निभाउँछन् । आफूले गल्ती गरेको कुरा सगुनले महसुस गर्छ । तर कथामा यस्तो गर्नु हुँदैनथ्यो भनेर अर्ती दिइएको छैन । यसप्रकार यो कथा एक उत्कृष्ट कथाका रुपमा छ ।
यस्ता र अन्य धेरै कथाहरु यस सङ्ग्रहमा सङ्ग्रहित छन् । अघिल्लो पुस्ताका कृष्णप्रसाद पराजुली जनकप्रसाद हुमागाईं विश्वम्भर चाचल प्रेमा शाह गोपाल पराजुली माया ठकुरीदेखि लिएर पछिल्लो पुस्ताका शौरभकिरण श्रेष्ठ विजयराज आचार्य कार्तिकेय घिमिरे अनन्तप्रसाद वाग्ले कृष्णदीप सिग्देल राजेन्द्रभक्त जोशीसम्मका कथाहरु यस सङ्ग्रहमा छन् ।
तर यस सङ्ग्रहमा सङ्ग्रहित कथाहरु सबै स्तरीय छैनन् । कतिपय कथाहरु त कथा भन्न पनि नसुहाउने किसिमका छन् । बालसाहित्य समाजको सदस्य भएकै आधारमा कथा छनोट गरिएकाले पनि यसो भएको हुनसक्छ । तत्कालीन समयमा बालसाहित्य समाजको सदस्य नभएका तर राम्रो कथा लेखिरहेका कथाकारहरुलाई यस सङ्ग्रहमा समावेश गरिएको छैन । विशेषगरी विदेशी समीक्षकहरुलाई लक्ष्य गरेर प्रकाशित गरिएको यो सङ्ग्रहका कथाहरु उत्कृष्ट हुनुपथ्र्यो । किनभने विदेशी पाठकहरुले नेपाली बालकथाको स्तर यही र यस्तै सङ्ग्रहका कथा पढेर थाहा पाउने हो । फेरि नेपाली बालसाहित्यको प्रतिनिधिमूलक संस्था नेपाल बालसाहित्य समाजले प्रकाशन गरेको पुस्तकलाई विदेशीहरुले मानक पनि मान्नुपर्ने अवस्था छ । त्यसैले यो कथा प्रकाशन गर्ने क्रममा व्यक्तिभन्दा पनि स्तरीयतालाई ध्यान दिइएको भए सुनमा सुगन्ध हुने थियो ।
यो कथासङ्ग्रहको संयोजन प्रमोद प्रधान अनन्तप्रसाद वाग्ले र शर्मिला खड्का दाहालले गरेका छन् । यसमा चित्र बनाउने काम युवक श्रेष्ठले गरेका हुन् । नेपाली बालसाहित्यमा कलम चलाउने नयाँदेखि पुराना पुस्तासम्मका कथा एकै ठाउँमा पढ्न पाइने हुनाले अङ्गे्रजीमा पढ्न चाहने पाठकहरुका लागि यो पुस्तक उपयोगी छ ।
  
Kathmandu, March 30, 2011.

Wednesday, March 2, 2011

कंसाकारलाई जेल पठाइनुको अर्थ

६ करोड रुपैयाँ धरौटी राख्न नसक्नाले जेल परेका नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारको घटनाले देश माफियाहरुको निर्देशनमा चलेको प्रमाणित हुन्छ । निरपराधले सजाय पाउने र अपराधीहरु खुल्लेआम हिँड्ने अवस्था देशमा सिर्जना भएको छ । यसबाट राज्यसंयन्त्र अत्यन्तै निष्प्रभावी भएको पनि प्रष्ट हुन्छ । जब कानूनीराजको सिद्धान्त पालना हुँदैन सहीलाई गलत तथा गलतलाई सही भनेर स्थापित गर्ने चौतर्फी प्रयत्न हुन्छ तब देश अराजकता र विशृङ्खलताको दलदलमा फस्दै जान्छ । कंसाकारलाई विशेष अदालतले धरौटी राख्न नसकेको निहुँमा जेल चलान गर्नुले नेपाल त्यही दिशामा अग्रसर भएको प्रमाणित गर्दछ । यस्ता र यस्तैखालका घटनाहरुबाटै एउटा मुलुक असफल राष्ट्र बन्दछ । हाल असफल राष्ट्रको सूचीमा रहेका कतिपय अपि्रुकीलगायतका राष्ट्रहरुले अहिलेको नेपालकै जस्तो अवस्था भोगेका थिए ।

वास्तवमा कुनै एक व्यक्ति जेल पर्नु वा नपर्नुले कुनै ठूलो अर्थ राख्दैन । तर यो प्रकरणले नेवानीलाई जहाज ल्याउन नदिने र अन्ततः सो संस्थालाई पूर्णतः धराशयी बनाउन उद्यत् कमिशनखोरहरुको जमातलाई जिताएको छ । यस्ता गलत तत्वहरुको पक्षमा सम्माननीय अदालतले समेत सहयोगी भूमिका निर्वाह गर्नु विडम्बना नै हो । यदि कंसाकारले आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि गलत कार्य गरेको प्रमाण पुगेको भए उनलाई जेल हाल्नु उचित हुन्थ्यो । कंसाकारले जहाज निर्माता कम्पनी एअरबसलाई दिएको बैना अवैधानिक भएको आरोप लागेको हो । तर केही दिनअघिमात्रै विमान निर्माताले सम्पूर्ण बैना रकम फिर्ता दिने बताइसकेको छ । त्यसका अतिरिक्त एउटा विमान कम्पनी विनाविमान कसरी चल्न सक्छ भन्ने कंसाकारको जिकिर पनि उचित छ । बैना प्रकरणमा कंसाकारलाई दोषी देख्ने संसद्को सार्वजनिक लेखा समिति आयुक्तविहीन अवस्थाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालत जस्ता निकायहरु नै गलत तत्वको प्रभावमा परेको यतिखेर आशङ्का गर्न थालिएको छ ।
नेपालको न्यायप्रशासन सबैभन्दा बढी भ्रष्टाचार हुने थलो हो भनेर ट्रान्सपरेन्सी इन्टरनेशनललगायतका भ्रष्टाचारविरोधी अभियानमा लागेका राष्ट्रिय-अन्तरराष्ट्रिय संस्थाहरुले बताउँदै आएका छन् । अर्कोतिर मुलुकको ढुकुटीमा हात हालेर आफ्नो र आफन्तको घरको धनसार भर्दै आएका नेताहरुमाथि कुनै कारबाही गर्न नसक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग यतिखेर एक प्रकारको ुआतङ्कु मात्र हुन पुगेको छ । उसले झिनामसिना र अनावश्यक सन्दर्भहरुमा ज्यादा सकि्रय भएर विगतमा अलिकतिमात्रै भए कमाएको आफ्नो जनविश्वास अहिले गुमाउँदै गएको छ ।
संसद्को सार्वजनिक लेखा समिति मुलुकको हितभन्दा सदस्यहरुको लाभ मात्र सोच्ने अखडा भएको कुरा नेवानिलाई जहाज किन्न नै नदिने प्रपाचले देखाउँछ । हवाइमाफियाको प्रभावमा परेर गरिएको यस्तो कामले अन्ततोगत्वा देशलाई नै घाटा पुग्ने स्पष्ट छ । अहिलेको संक्रमणकालीन राजनीतिक अवस्थामा कानूनको पालना गर्नु र गराउनुपर्ने निकायले सबैभन्दा बढी अवैधानिक काम गरिरहेका छन् । कंसाकारविरुद्धको यो घटना त्यसको एउटा सानो उदाहरण मात्रै हो । अपराधलाई संस्थागत गर्न जुन रुपमा व्यवस्थापिका-संसदका सदस्य अदालत संवैधानिक निकाय अख्तियारभित्रका एकगठ हुने परम्परा नै बन्न थालेको छ त्यसले निकट भविष्यमै देश अकल्पनीय दुर्घटनामा पर्नसक्ने संकेत गर्छ ।
आर्थिक अभियान २०६७ फागुन १७ को सम्पादकीय